हनुमानढोकामा ५४ बोका र ५४ राँगाको बलि !

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् । प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैं घरमा चैते दसैंका दिन पनि बलिसहित पूजा गरिन्छ ।

पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्‍ने कामनाले बलि दिइन्छ । यस वर्ष पनि मङ्‍गलबार बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्‍डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । बडादसैंमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ ।

गत वर्ष चैते दसैंमा भने कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिई पूजामात्र गरिएको थियो । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैं घरमा विशेष पूजा र दुर्गा सप्तशती ९चण्डी० पाठ पनि भइरहेको छ । वि.सं. २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दसैं घर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत छ । गत वर्ष चैते दसैंमा कोरोना भाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको थियो ।

प्रतिक्रिया