नक्कली प्रमाणपत्र पेश गरेकाे अभियोगमा सातजना डाक्टर पक्राउ

काठमाडाैं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर पढेकाे अभियोगमा सात जना डाक्टर पक्राउ परेका छन् । उच्च शिक्षाका लागि उनीहरुले एसएलसीको प्रमाणपत्रमा प्राप्तांक लगायत विवरण परिवर्तन गरेको  प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुरा गाउँपालिका–२ का मोहम्मद सिद्दिकी, महोत्तरी सरपल्लो–६ का सुभाषप्रसाद साह, धनुषा सबैला–२ का मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खान छन् ।

पक्राउ परेका मोहम्मद सिद्दिकी न्यूरो हस्पिटल विराटनगर, दीपेन्द्र गौतम चौरजहारी अस्पताल रुकुम पश्चिम, मोहम्मद साहिद राजा दीर्घायू गुरु अस्पताल चाबहिल र शुभाष साह जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

आरोपीहरुले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि आवश्यक न्यूनतम योग्यता नपुगेपछि एसएलसीको मार्कसिटमा नाम, जन्ममिति, प्राप्तांकलगायत विवरण कीर्तेगरि मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया