नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले मलेशियालाई ९ विकेटले हराएको छ । ११० रनको लक्ष्य पाएको नेपालले १३ औं ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

नेपालको जीतमा कुशल भुर्तेलले नटआउट ६१ रन बनाए । आशिफ सेख ४२ रनमा आउट भए । उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । दिपेन्द्रसिंह ऐरी ६ रनमा नटआउट रहे ।

कुशल र आशिफले पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गर्दै जीतको आधार तय गरेका थिए ।

नेपालले पहिलो ६ ओभरको पावर प्लेमा विना विकेट ७० रन बनाएको हो ।

कुशलको लगातार दोश्रो अर्धशतक
नेपालका ओपनर कुशल भुर्तेलले प्रतियोगितामा लगातार दोश्रो अर्धशतक बनाएका छन् कुशलले २६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । उनले नेदरल्याण्ड्ससँगको खेलमा पनि अर्धशतक बनाएका थिए । त्यो उनको राष्ट्रिय टिममा पहिलो खेल थियो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेशिया १६ ओभर ५ बलमा १०९ रनमा अलआउट भयो ।
नेपालका लागि करण केशीले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए ।

मलेशियाका तीनजना खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । उसका सायद अजिजले बनाएको २७ रन नै सर्वाधिक हुन पुग्यो ।यस्तै, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए । मलेशियाका एक खेलाडी रन आउट भएका थिए ।

प्रतिक्रिया