कोभिडको त्रास : विराटनगरका विद्यालय एक साता बन्द

विराटनगर । विराटनगर महानगरपालिकाभित्रका विद्यालय आज (सोमबार)देखि एक साताका लागि बन्द भएका छन् । कोभिड-१९ को महामारी फैलँदै गएपछि विराटनगर महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गरेको हो ।

परीक्षाको पूर्वतयारीका लागि दिइएको बिदालाई कोभिडसँग जोडेर सोमबारदेखि एक हप्ता बिदा दिइएको विराटनगर महानगरपालिकाले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीबाट अतिप्रभावित १४ जिल्लामा मोरङ पनि परेको छ ।

विराटनगर महानगरपालिकाअन्तर्गतको नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सबै विद्यालय वैशाख ६ गतेदेखि १२ गतेसम्म एक हप्ताका लागि परीक्षाको पूर्वतयारी बिदा दिने निर्णय गरेको थियो ।

एक हप्तापछि कोरोना महामारीको प्रभाव हेर्दै आलोपालो प्रणालीबाट परीक्षासमेत सञ्चालन गराउन लगाउने शिक्षा समितिले निर्णय गरेको शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

कोरोना महामारीको ‘चेन ब्रेक’ गर्न पनि एक हप्ताका लागि परीक्षा तयारी बिदा दिने निर्णय गरिएको खतिवडाले जानकारी दिए । उनले १३ गतेदेखि विद्यालयका वार्षिक परिक्षाहरू आलोपालो गरेर सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रिया