त्रिदेशीय सिरिज: मलेसियाविरुद्ध जितको खोजिमा नेपाल

काठमाडौं । त्रिदेशीय टि-२० क्रिकेट सिरिजमा नेपालले मलेसियासँग आज प्रतिस्पर्धा गर्दैछ । जारी सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजिमा हुनेछ ।

टियु क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल मलेसियाविरुद्ध पनि यस्तै जित निकाल्ने लक्ष्यमा छ । यता, आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले हारेको नेदरल्यान्ड्स भने नेपाललाई हराउने दाउमा हुनेछ ।

उल्लेखीय दर्शकको उपस्थितिमा नेपालले नेदरल्यान्ड्सलाई हराउँदा डेब्यु खेलाडी कुशल भुर्तेल र आशिफ शेखको ओपनिङ उत्कृष्ट रह्यो । पहिलो विकेटको लागि कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको साझेदारी गरेको थियो । योसँगै कुशल र आशिफको जोडीले नेपाली क्रिकेटको ओपनिङ समस्या समेत समाप्त भएको आँकलन गर्न सकिन्छ ।

तर एकै खेलबाट समस्याको समाधान भएको भन्न मिल्दैन । मलेसियाविरुद्ध पनि ओपनिङमा कुशल र आशिफ नै आउने छन् । यी दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे मलेसियाविरुद्ध नेपालले ठूलो स्कोर प्रस्तुत गर्ने निश्चित छ ।

नेदरल्यान्ड्सविरुद्ध कुशलले ४६ बलमा ६२ रन बनाए । जसमा पाँच चौका र पाँच छक्का सामेल थियो । त्यस्तै, आशिफले ५४ रनमा अविजित खेल्दा ३८ बलको सामना गर्दै चार चौका र चार छक्का प्रहार गरेका थिए । यी दुबै खेलाडीको युवा जोशले जारी सिरिजमा नेपालको ओपनिङलाई कता लैजाला? त्यो भने बाँकी खेलले प्रष्ट्याउने छ । त्यसो त, तेस्रो नम्बरमा कप्तान ज्ञानेन्द्र मल्ल आउँदा चौथोमा दीपेन्द्रसिंह ऐरी ब्याटिङमा आउनेछन् । त्यसपछि आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने ब्याटिङमा आउने छन् ।

त्यसो त बलिङ नेपालको उत्कृष्ट नै छ । नेदरल्यान्ड्सलाई १३६ रन मै रोक्दा नेपाली बलरले डच ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । मलेसियाविरुद्ध पनि नेपाली बलरहरुको प्रदर्शन यस्तै अपेक्षा गरिएको छ । तर नेपाली बलरका लागि भिरन्दीप सिंह, सियद अजिज, अहमद फैज घातक सावित हुन सक्छन् । भिरन्दीप सिंहले नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि ५३ बलमा ८७ रन बनाएका छन् ।

पछिल्लो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । सन् २०२० को फेब्रुअरी २९ मा एसीसी पूर्वी क्षेत्रीय छनोटमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । त्यो खेलमा सियद अजिजले ५१ रन बनाएका थिए । त्यसअघि नेपालले मलेसियासँग २०१९ मा तीन वटा टि-२० खेलमा जित निकालेको छ ।

प्रतिक्रिया