कोरोना कहर : भारतबाट फर्किनेको लर्को, जाने घटे

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिए ।

उनका अनुसार शनिबार मात्रै दुई हजार ३७२ नेपाली भारतबाट फर्किएका छन्, तीमध्ये एक हजार २९५ कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । भारततर्फ जाने सङ्ख्या भने घटेको छ । शनिबार २९९ व्यक्ति भारततर्फ गएका छन् । तीमध्ये कतिपय नेपाली औषधोपचारका लागि गएका छन् भने भारत जानेमा अधिकांश भारतीय नागरिक नै रहेका छन् ।

नेपालगञ्जस्थित जमुनाह नाका भएर भारतको मुम्बई, दिल्ली, महाराष्ट्र, गडवाललगायत भारतीय शहरबाट दैनिक ठूलो सङ्ख्यामा नेपाली घर फर्किने गरेका छन् । प्रहरी नायब निरीक्षक गिरीले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै घर फर्किने नेपालीको लर्को लागेको बताए । जोखिम बढेपछि रुपैडिहा किनमेलका लागि जान रोक लगाइए पनि कतिपयले जोखिम मोलेरै अनौपचारिक नाका प्रयोग गरिरहेको देखिन्छ । स्वास्थ्य उपचार र अत्यावश्यकीय कामको लागिमात्र नेपालीलाई भारत जान दिइएको छ ।

यसरी भारतबाट नेपाल फर्किएकामध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित सीमा नाका जमुनाह हुँदै भारतबाट नेपाल प्रवेश गर्ने ६० प्रतिशतमा सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाप्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार भारतबाट फर्किने ६० प्रतिशत बढी नेपालीमा कोरोना सङ्क्रमण देखिने गरेको छ ।

नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको जाँचमा भारतको गुजरात र दिल्लीबाट आएका अधिकांशमा कोरोना पुष्टि देखिने गरेको हो ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिनेतर्फ दृष्टिगत गर्दै उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा स्वास्थ्य कक्ष स्थापना गरी नेपाल आउनेहरुको ज्वरो नाप्ने तथा शङ्कास्पद देखिएमा एन्टिजिन प्रविधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ ।

छिमेकी मुलुक भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनाका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रजिअ शिवराम गेलालले जानकारी दिए ।

उनका अनुसार सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ ।

प्रतिक्रिया