थुलुङ दुधकोशी बन्यो जिल्लाकै तेस्रो साक्षर स्थानीय तह

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । कुल जनसंख्या २२ हजार ३ सय ७५ मध्ये ९८.५० प्रतिशत साक्षर भएसँगै शनिबार साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

२०७६ सालमा विद्यालयमार्फत गरिएको सर्वेक्षणमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९ सय १६ जना निरक्षर देखिएकोे थियो । त्यसपश्चात् सञ्चालित साक्षर कक्षामार्फत ९ सय २ जना साक्षर बनेकोे गाउँपालिका प्रवक्ता भुपालसिंह राईले जानकारी दिए । उनका अनुसार नेपाल वर्ष २०७६ अवधारणा अनुसार कुल जनसंख्याको ९५ प्रतिशत साक्षर भएको खण्डमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

शनिबार जिल्लाका संघीय सांसद हेमकुमार राई सुरविरको प्रमुख आतिथ्यतामा गाउँपालिका केन्द्र मुक्ली भएको कार्यक्रमले औपचारिक रुपमा साक्षर गाउँपालिका घोषणा गरिएको हो । साक्षर पालिका घोषणा गर्नेमा थुलुङ दुधकोशी गाउँपालिका जिल्लाकै तेस्रो स्थानीय तह बनेको छ । यसअघि नेचासल्यान गाउँपालिका र सोलुदुधकुण्ड नगररपालिकाले साक्षर घोषणा गरिसकेको छ ।

प्रतिक्रिया