बार्सिलोनालाई ‘कोपा डेल रे’को उपाधि

काठमाडौं । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक क्लबलाई पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

कोपा डेल रे फुटबलको फाइनलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । बार्सिलोनालाई उपाधि दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रिजम्यान र फ्रेन्की डे योङले १-१ गोल गरे ।

खेलको पहिलो हाफमा एथ्लेटिक क्लब र बार्सिलोनाले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध चार गोल गर्दै उपाधि जितेको हो । खेलको ६० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाए । ६३ औं मिनेटमा डि योङ गोल गर्दै बार्सिलोनालाई २-० गोलको अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३-० गोलको अग्रता बनायो । ८ मिनेटभित्र बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध तीन गोल गर्न सफल भयो । खेलको ७२ औं मिनेटमा कप्तान मेस्सीले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० गोलको जित दिलाउँदै उपाधि जिताए ।

खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले जारी सिजनमा जितेको यो पहिलो उपाधि हो ।

प्रतिक्रिया