बायर्नलाई सात अंकको अग्रता

काठमाडौं । बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिकले सात अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बायर्नले ओल्फसबर्गलाई पराजित गर्दै आफ्नो उपाधि यात्रालाई थप बलियो बनाएको हो ।

बायर्नले घरेलु टिम ओल्फसबर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा जामल मुसियलाले दुई गोल गर्दा इरिक म्याक्सिम मोटिङले एक गोल थपे । ओल्फसबर्गका ओउट वेघोस्र्ट र म्याक्सिमिलियन फिलिपले गोल गरे ।

खेलको १५ औं मिनेटमा नै मुसियलाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । खेलको २४ औं मिनेटमा इरिक म्याक्सिम मोटिङले गोल गरेपछि बायर्नले २-० गोलको अग्रता बनायो । खेलको ३५ औं मिनेटमा ओउट वेघोस्र्टले गोल गर्दै ओल्फसबर्गलाई २-१ गोलको स्थितिमा ल्याए ।

तर ३७ औं मिनेटमा मुसियलाले गोल गर्दै पहिलो हाफसम्म बायर्नलाई ३-१ गोलको अग्रता दिलाए। खेलको ५४ औं मिनेटमा म्याक्सिमिलियनले गोल गर्दै ओल्फसबर्गलाई ३-२ गोलको अवस्थामा ल्याएपनि बायर्नसँगको हार टार्न सकेन ।

जितसँगै शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन बायर्नको २९ खेलबाट ६८ अंक भएको छ । पराजित ओल्फसबर्ग भने लिगको तेस्रो स्थानमा रहेको छ । लिगको दोस्रो स्थानमा भने लाइपजिग रहेको छ । लाइपजिगको २९ खेलबाट ६१ अंक छ ।

प्रतिक्रिया