त्रिदेशीय सिरिज: मलेसिया र नेदरल्यान्ड्सले खेल्दै

काठमाडौं । त्रिदेशीय टि-२० क्रिकेट सिरिजमा आज मलेसिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स मलेसियाविरुद्ध भने जित निकाल्ने लक्ष्यमा हुनेछ ।

टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्सबीचको खेल मध्यान्ह १२ः१५ मा सुरु हुनेछ । त्रिदेशीय सिरिजमा मलेसियाको यो पहिलो खेल हो भने नेदरल्यान्ड्सको दोस्रो खेल हो । नेदरल्यान्ड्सलाई हराउँदै विजयी सुरुवात गर्ने लक्ष्यमा मलेसिया हुनेछ ।

यसअघि शनिबार भएको पहिलो खेलमा आयोजक नेपालसँग नेदरल्यान्ड्स ९ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले दिएको १३७ रनको मध्यम लक्ष्य नेपालले १५ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि डेब्यु खेलाडी कुशल भुर्तेलले ४६ बलमा ६२ र आशिफ शेखले ३८ बलमा अविजित ५४ रन बनाएका थिए ।

डबल राउन्ड रोविनको आधारमा सञ्चालन भएको त्रिदेशीय सिरिजको शीर्ष दुईमा पर्ने टिमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल ११ गते हुनेछ ।

प्रतिक्रिया