हैदरावादको लगातार तेस्रो हार

काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्ससँग हैदरावाद १३ रनले पराजित भएको हो ।
१५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरवादले दुई बल बाँकी छँदा सबै विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । हैदरावादको लागि जोनी बैरस्टवले ४३, कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन बनाए । बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ट र राहुल चाहारले समान ३-३ विकेट लिए ।
चेन्नाईमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५० रन बनाएको थियो । मुम्बईका लागि क्वीन्टन डिककले ४०, केइरन पोलार्डले अविजित ३५ र कप्तान रोहित शर्माले ३२ रन बनाए । बलिङमा हैदरावादका मुजिब उर रहमान र विजय शंकरले समान २-२ विकेट लिए ।
जितसँगै मुम्बईले तीन खेलमध्ये दुई खेलमा जित निकाल्दै आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा भने रोयल च्यालेन्जर्स बैंग्लोर छ । यता, हैदरावादको भने यो लगातार तेस्रो हार हो ।








