अब अयोध्यामा उभिनेछन् राम, सीता, लक्ष्मण र हनुमान

काठमाडौं । चितवनको माडी नगरपालिका-९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिँदै छ । यसका लागि निर्माण कार्य तीव्र पारिएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो ७ चैतमा काठमाडौँबाट र्‍यालीसहित ल्याइने र ८ चैतमा कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो ।

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक संघसंस्थाको समन्वयमा तयारी बढाइएकाे छ । कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिने अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

कार्यक्रमलाई व्यवस्थितरूपमा सम्पन्न गर्न शुक्रबार माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक गरिएको छ । बैठकले माडी र र्‍यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागतद्वार राख्न अनुरोध गर्ने निर्णय भएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी सक्रियरूपमा काम अगाडि बढिरहेको उनले बताए ।

अयोध्याधाममा सरसफाइ, निर्माण र सहयोगको काम अगाडि बढिरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिए । अयोध्याधाम निर्माणको लागि आर्थिक तथा जिन्सी सहयोग आइरहेका छन् । निर्माण कार्य तीव्ररुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहलपहल बढेको छ ।

प्रतिक्रिया