‘सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्ने काम भयो’ (भिडिओसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्ने काम भएको टिप्पणी गरेका छन् । शुक्रवार बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हन् । ‘हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितविरुद्ध षड्यन्त्र गर्ने काममा स्वयम् सरकारको नेतृत्व लाग्ने खबर देखिन्छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुमाउरो पारामा इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘देश र जनताको प्रतिष्ठा, आत्मसम्मान, राष्ट्रिय स्वाधीनतामाथि प्रश्न गर्ने दुस्साहस भएको छ । यो नेपाली जनतालाई यो स्वीकार्य छैन ।’
अध्यक्ष प्रचण्डले तानाशाहीहरु एकैचोटी परास्त नहुने बताए । ‘तानाशाहीहरु एकैचाटी परास्त हुँदैनन्, अध्यक्ष प्रचण्डले भने, ‘अझै षड्यन्त्र चलिरहेको छ । जनताले लोकतन्त्रविरोधी गणतन्त्रविरोधी कदम स्वीकार गरेनन् । सवै विज्ञ, नागरिक र जनता यसको विरोधमा गए । अन्ततः अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गर्यो ।’
प्रगतिविरोधी तथा राष्ट्रविरोधी तत्वहरू इतिहास पछाडि धकेल्ने प्रयासमा रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।








