आईपीएल : राजस्थानको पहिलो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेपछि खेल ३ विकेटले जितेको हो ।
राजस्थानका लागि डेविड मिलरले सर्बाधिक ६२ रन बनाए भने क्रिस मोरिसले अविजित १८ बलमा ३६ रन बनाएका थिए । त्यस्तै राहुल तेबाटियाले १९ र जयदेव उनदकटले अविजित ११ रन बनाए । राजस्थानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै दिल्लीका बलर अभेश खानले ३ विकेट लिए भने क्रिस वोक्स र कागीसो रबाडाले २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषव पन्तले ३२ बलमा ५१ रन बनाए भने ललित यादवले २०, टम कुरानले २१ र क्रिस वोक्सले १५ रन बनाए । दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी राजस्थानका बलर जयदेव उनदकटले ३ विकेट लिए भने मुस्ताफिजुर रहमानले २ तथा क्रिस मोरिसले एक विकेट लिए ।
योजितसँगै राजस्थानले यस सिजनको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको दिल्लीले दोस्रो खेलमा हार बेहोरेको छ । अब आइपिएल अन्तर्गत आज पञ्जाब किंग्स र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ ।








