लामो प्रयासपछि बल्ल उठ्यो लिङ्गो

भक्तपुर । नयाँ वर्षको अवसरका बेलामा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्राको योसिङ द्यः अर्थात् ५५ हातलामो लिङ्गो २४ घण्टाको प्रयासपछि बुधबार साँझमात्र उठेको छ ।

बिस्काः जात्राअन्तर्गत चौथो दिन तथा वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका-५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात् वैशाख १ गते दिनभरि जात्रा गरी साँझ ढाल्ने परम्परा रहँदै आएको छ तर भक्तपुरमा यस वर्ष ३१ गते साँझ करिब ५ बजेदेखि धेरै व्यक्तिको अगाडि यहाँका बासिन्दाले ५५ हात लामो लिङ्गो उठाउन खोजे पनि राति अबेरसम्म नसकेपछि बुधबार फेरि उठाउने प्रयास गरेका थिए । अथक प्रयास पछि बुधबार साँझ करिब पौने ७ बजे मात्रै उक्त लिङ्गो उठाइएको थियो । लिङ्गो उठाएपछि गरिने सम्पूर्ण पूजा एवं तान्त्रिक विधि पुर्‍याएर बुधबारै लिङ्गो ढालिएको थियो ।

५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलनअनुसार आठ वटा मोटो एवं लामो डोरी बाधेर चारैतिरबाट गोलाकार रुपमा बसेर लिङ्गोलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्‍ने धार्मिक मान्यता रहेको छ । यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्‍ने गरिएको छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीयभाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ । जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बलि चढाएर रथ जुधाउने परम्परा रहेको छ ।

भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्‍न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ । विक्रम संवत्अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्राबिःसीत अर्थात् नागनागिन मर्‍यो भन्‍ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविद्को भनाइ छ ।

इतिहासविद्का अनुसार किराँत शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसियालीमा लिच्छवी शासकले विजयीध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति छ । -रासस

प्रतिक्रिया