डोर्टमुन्डलाई हराउँदै सिटी सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डोर्टमुन्डलाई पराजित गर्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु टिम डोर्टमुन्डलाई सिटीले दोस्रो लेगमा २-१ गोलअन्तरले पराजित गर्न सफल भयो । यसअघि पहिलो लेगमा पनि सिटीले डोर्टमुन्डलाई २-१ गोलले नै पराजित गरेको थियो । सिटीले डोर्टमुन्डलाई समग्रमा ४-२ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलको १५ औं मिनेटमा जड बलिङहमले गोल गर्दै डोर्टमुन्डलाई १-० को अग्रता दिलाए । पहिलो हाफसम्म १-० को अग्रता बनाएको डोर्टमुन्डले दोस्रो हाफमा दुई गोल खाँदै हार ब्यहोरेको हो । खेलको ५५ औं मिनेटमा पेनाल्टीबाट रियाद महरेजले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरी दिलाए । ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २-१ गोलको जित दिलाए ।

सेमिफाइनलमा प्रवेश गरेको सिटीले अब फाइनल प्रवेशका लागि २७ तारिखमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सेमिफाइनलको पहिलो लेगमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सिटी र पिएसजीको दोस्रो लेग मे ४ मा हुनेछ । पिएसजीले साविक विजेता बायर्न म्युनिकलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो ।

प्रतिक्रिया