पछिल्लो कोरोना अपडेट : ३ जनाको निधन, ६०३ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ३ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा थप ३ जनाको निधन भएको हो ।

यस्तै थप ६०३ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार ४ हजार २ सय ८९ पीसीआर परीक्षण गर्दा ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २५४ जना संक्रमित भेटिएका छन् । यस्तै काठमाडौं (जिल्ला)मा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबिच गत २४ घण्टामा थप १२९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने आइसीयूमा रहेका संक्रमितको संख्या ८० छ । यस्तै २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हाल देशभर ४ हजार ५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३ हजार ५ सय ९९ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया