पुनर्निर्माण प्राधिकरणले ‘जोखिममुक्त नेपाल महाअभियान कार्यक्रम’ बनाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ । बुधबार प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८ औं बैठकले यससम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले विपद् व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन वस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौं उपत्यकाको पुनर्निर्माण तथा पुनःस्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनःनिर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत् अघि बढाउने निर्णय पनि गरेको छ ।

कार्यक्रमअन्तर्गत प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण र भविष्यमा भूकम्पबाट क्षति हुनसक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढंगले हेरी पुनःनिर्माण र पुनस्र्थापनाको कार्य अगाडि बढाउन मिल्नेगरी कार्यक्रमको खाका तयार गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमती एवं सहभागितालाई मूल सिद्धान्त बनाई आवश्यकताअनुसार ‘हाउस पुलिङ’ लगायतका विधिहरुको अवलम्वन समेत गरी शहरी पुनःनिर्माणका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । उनले बस्तीको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउँदै ती संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गरे ।

बैठकले पुननिर्माण प्राधिकरणको अवधि २०७८ पुस १० गतेसम्म रहेकोमा चालु आर्थिक वर्षमा मूलभूत कामहरु सम्पन्न गर्ने र साउन १ गतेदेखि बाँकी अवधिमा हस्तान्तरणलगायतका लागि हस्तान्तरण गर्ने निकाय, योजना तथा कार्यक्रम र वित्तीय व्यवस्थापनको खाकासमेत स्वीकृत गरेको छ ।

सोहीअनुसार आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँको बजेटका लगि नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको सफलता नेपालको गौरव र सम्पत्ति भएको उल्लेख गर्दै यो विश्वलाई देखाउन लायक भएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रमसम्बन्धी प्रस्ताव तयार भइरहेको बताए ।

निर्देशक समितिका उपाध्यक्ष प्रमुख प्रतिपक्ष दलका नेता रहने व्यवस्था भएअनुरुप निजको प्रतिनिधित्प गर्दै बैठकमा उपस्थित नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राधिकरणले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी रहेका कार्यहरु समेत यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा ‘सगरमाथा संवाद’को समयलाई समेत ध्यानमा राखी सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

साथै, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले धरहरा टावरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउँदै २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको बैठकलाई जानकारी गराए ।

प्रतिक्रिया