‘एकथरिले प्रधानमन्त्री हुन पाइनँ भनेर प्रतिगमन भने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्रतिगमन नभएको दोहोर्याएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘लोकतन्त्र योद्धा’सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जिकिर दोहोर्याएका हुन् । ‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइनँ भनेर प्रतिगमन भो भनेर कराइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले त्यस्तै स्याल हुइँया चलेको छ । के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।’
व्यवस्था र संविधान खोसियो भने मात्रै प्रतिगमन हुने अर्थ्याउँदै प्रधानमन्त्री ओलीले अहिले प्रतिगमन नभएको बताए । ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र ? केही पनि परेको छैन,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
लुटपात गरेरै भएपनि सरकारमा पुग्ने चाहना राखेका केहीका सपना पूरा नभएको र उनीहरुले प्रतिगमनको हल्ला मच्चाएको आरोप प्रधानमन्त्री ओलीको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्नपर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् ।’
प्रधानमन्त्री ओलीले गत वर्षको पुस ५ गते प्रतिनिधि सभा भङ्ग गरेका थिए । तत्पश्चात तत्कालीन नेकपाभित्र विपक्षीको भूमिका निर्वाह गरी प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुले प्रतिगमन भएको भन्दै सडककेन्द्रित गतिविधि गरेका थिए ।








