५० ठाउँमा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं । सात प्रदेशका ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बनाउने जिम्मा चिनियाँ कम्पनी वाङवाङले पाएको छ । चार्जिङ् स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।

प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तरराष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको पनि उनले बताए ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिनेछ ।

उनका अनुसार चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारी साधनमा एकसाथ चार्ज गर्न सकिनेछ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने प्रवक्ता तिम्सिानले जानकारी दिए । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत् बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा राखिनेछ । काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिनेछ ।

सम्झौताअनुसार १ नम्बर प्रदेशमा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् ।

यस्तै, २ नम्बर प्रदेशमा पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

बागमती प्रदेशमा धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २, मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २, तथा मुगलिन/कुरिनटारमा ४ र काभ्रेको बनेपामा एउटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङजामा १/१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।
लुम्बिनी प्रदेशमा बाँकेको नेपालगञ्ज १, दाङको भालुवाङ तथा दाङमा १/१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट/सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहनेछन् ।

कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहनेछन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेगरी सम्झौता भएको प्रवक्ता तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया