प्रधानमन्त्री ओलीको नजर : २०७७ मा विकासै विकास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोभिड महामारी र राजनीतिक अस्वस्थता रहेपनि वर्ष २०७७ निरर्थक नभएर उपलब्धिकै वर्ष भएको दाबी गरेका छन् । नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गएको वर्ष उपलब्धिमूलक रहेको जिकिर गरेका हुन् ।

‘दशकौंदेखिको चीर प्रतिक्षा पूरा गर्दै हामीले मेलम्चीको पानी काठमाडौंमा २०७७ भित्रै झार्न र काठमाडौंका जनताका धाराधारामा पानी पुर्‍याएर खुसियाली बाँड्न सफल भएका छौं, हामीले जस लिनका लागि मात्रै यो गरेका होइनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘पुनःनिर्माण, नवनिर्माण, असाधारण र दूरगामी महत्वका थुप्रै आयोजना अघि बढायौं ।’

उनले २०७७ सालमा देशभर धेरै सभागृह निर्माण गरिएको बताए । लुम्बिनीमा ५ हजार क्षमताको सभागृह तथा ध्यान केन्द्र निर्माण गरेको र गोदावरीमा ३ हजार क्षमताको सभागृहको निर्माण कार्य सकिएको उनले उल्लेख गरे ।

पहिले काठमाडौंका केही र पोखराका सभागृह ठूला सभागृहका रुपमा रहेकोमा अब धेरै सभागृह बनेको उनको भनाइ छ ।

यस्तै सिंहदरबारभित्र संसद भवन निर्माण भइरहेको र यो पनि सरकारको ठूलो उपलब्धिका रुपमा रहेको उनले बताए ।

सडक निर्माणमा पनि सरकारले वर्ष २०७७ मा ठूलो सफलता प्राप्त गरेको प्रधानमन्त्रीको भनाइ छ । ‘२०७७ मा प्रतिदिन साढे ५ किलोमिटर सडक निर्माण भएको छ,’ उनले भने, ‘एक दिनमा कम्तिमा १२ वटाका दरले आवासहरु तयार भएका छन् ।’

सरकारको सामाजिक सुरक्षा भत्ताको दायरामा धेरै नागरिक समेटिएर आर्थिक लाभ प्राप्त गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘विभिन्न ८ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३० लाख ६० हजारभन्दा बढीरहेको छ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता महिनाको १ सयबाट सुरु गरेका थियौं । आज दिनको १ सयमा पुगेको छ । र आगामी दिनमा बजेटमार्फत् सामाजिक सुरक्षा भत्ता अझ बढाइनेछ । यो बीचमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ५ लाखले थप भएको छ ।’

योगदानमा आधारित सामाजिक सुरक्षा नयाँ अवधारणाका साथ सुरु गरिएको समेत उनले जानकारी दिए ।

प्रधानमन्त्रीले संबोधनमार्फत देशैभर हरेक दिन १ भन्दा बढी झोलुङ्गे पुल, हरेक २ दिनमा एउटा सडक पुल, हरेक ३ दिनमा एउटा ग्रामीण सडक पुल निर्माण भइरहेको तथ्यांक पेश गरेका छन् । ‘पूर्वझापाको भद्रपुरस्थित गलगलियाको मेची खोलामा र पश्चिम गड्डाचौकीको महाकालीमा पुल बनेको छ,’ उनले भने, ‘नदी करिडोर सडक, उत्तर–दक्षिण लिंक मार्ग, नाकाहरु निर्माण भइरहेको छ ।’

पूर्वपश्चिम राजमार्ग चौडा गर्ने काम विभिन्न खण्डमा भइरहेको, हुलाकी राजमार्ग निर्माण धेरै ठाउँमा सम्पन्न भइसकेको र केही ठाउँमा निकुञ्जका कारण सम्पन्न हुन बाँकी रहेको उनले बताए । राजमार्गबाट सदरमुकाम जोड्ने तराइका सडक ४ देखि ६ लेनमा विस्तार गर्ने काम भइरहेको उनले बताए ।

जनकपुर–जयनगरमा २ ओटा रेल चलाउन ल्याइसकेको, पूर्वपश्चिम रेलमार्ग निर्माण गरिरहेको उनको भनाइ छ । ‘आशा जगाएपछि हुन्छ भन्ने कुरा सप्तकोसीमा चलेको स्टिमरले देखाइसकेको छ,’ प्रधानमन्त्रीले भने ।

पुनःनिर्माण प्राधिकरणले पनि धेरै काम गरेको भन्दै प्रधानमन्त्री ओलीले भीमसेन स्मारकको रुपमा चिनिएको धरहरा यही वैशाख ११ गते लोकार्पण गर्ने जानकारी दिए ।

‘नयाँ हवाई मैदान निर्माण, रात्री उडान सुरु, त्रिभुवन विमानस्थल अहिले धेरैलाई नयाँपन अनुभव हुनेगरी बनाउनु, जस्ता काम महत्वपूर्ण उपलब्धि रहेको भन्दै उनले भने ‘हामीले समयलाई प्रतिकुलताका बीच पनि खेर जान दिएका छैनौं ।’

दरबार हाइस्कुलको नव निर्माण गरिसकेको र जापानको सहयोगमा पाटनढोकामा बनेको विद्यालय वैशाख ६ गते उद्घाटान गर्ने उनले बताए । एकैदिन देशभरि ३९७ अस्पताल शिलान्याश गरिएको, विद्यालय, विश्वविद्यालय, शिक्षालयहरु शिलान्याश गरेको विवरण पनि प्रधानमन्त्री अ‍ोलीले दोहोर्याए ।

‘डिजिटल नेपालअन्तर्गत हामीले कृषिलाई प्रविधिसँग जोड्दैछौं,’ उनले भने, ‘ठूला आयोजनाका प्रगति हामीले सिंहदरबारमै बसेर अवलोकन गरिरहेका छौं ।’

जमिनको डिजिटल स्वाइल म्याप तयार गरेको, नागरिक एप्स बनाएको र नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम शुभारम्भ गर्न लागेको उनले बताए ।

१३ औं दक्षिण एसियाली खेलकुदमा २०७ ओटा पदक जित्नुमा नेपालीको मनोबल माथि उठ्नु कारण भएको प्रधानमन्त्रीले जिकिर गरे । ‘हामीले जगाएको आशाले नयाँ जोश जाँगर र आत्मबल बढेको छ, गत वर्ष आफ्नो भूभागसमेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेका छौं‚’ प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया