सम्झनामा ७७ साल: आशाको झिल्को बनेको कलिउड-बलिउडको बढ्दो सम्बन्ध

काठमाडौँ । वर्ष २०७७ नेपाली चलचित्रकर्मीका लागि खासै सुखद् रहेन । तर, फुर्सदिलो समयको उपयोग गर्दै धेरै नेपाली चलचित्रकर्मीले भिन्न-भिन्न शैलीमा कला क्षेत्रमा उपस्थिति भने देखाए । युट्युब उनीहरुका लागि सबैभन्दा प्रभावकारी ठाउँ बन्यो ।
यो वर्ष केही भारतीय कलाकार नेपाली चलचित्रमा जोडिए । त्यस्तै केही निर्माताले भारतीय प्राविधिकको प्रयोग गरेर चलचित्र छायाङ्कन समेत थालेका छन् । त्यस्तै नेपाली चलचित्र भारतीय तथा अन्य देशका चलचित्र हलमा लगाउने प्रयास समेत थालिएको छ ।
चलचित्र होल्ड हुँदाको फाइदा अहिले निर्देशक/निर्माता सन्तोष सेनले लिइरहेका छन् । उनी अहिले भारतमा रहेर चलचित्रको हिन्दी डबिङको काम गर्दैछन् । पोस्ट प्रोडक्सनका लागि मुम्बई पुगेका उनको सम्पर्कमा आएका भारतीय चलचित्रकर्मीले यो चलचित्रलाई भारतीय हलमा प्रदर्शन गर्न चासो देखाएके उनले बताएका छन् । यसैको परिणाम हिन्दी भाषाका लागि नाम चलेका कलाकारबाट चलचित्रको डबिङ भइरहेको छ । सेन भारत कै अन्य भाषामा चलचित्र डब गर्ने योजनामा पनि छन् । यसका लागि ओटिटी प्ल्याटफर्मबाट विभिन्न कुराकानी आए पनि उनले पहिलो प्राथमिकता हलमा नै चलचित्र प्रदर्शन गर्ने योजना बनाएको उनले बताए ।
चलचित्र ‘प्रेम गीत ३’ २०७६ सालको चैत २८ गतेबाट नै प्रदर्शन गर्ने तय भइसकेको थियो । ठुलो लगानीमा बनेको यो चलचित्रले पनि आर्थिक भार खेप्नु परेको छ । चलचित्र ‘लप्पन छप्पन २’ समेत ५ भाषामा प्रदर्शनको तयारी गरिरहेको थियो । दोस्रो लहरको कोभिड १९ का कारण हाललाई चलचित्र प्रदर्शन रोकिएको निर्देशक मुकुन्द भट्ट बताउँछन् । तर यो चलचित्र निर्माण टिमले समेत पहिलो पटक चीनका हलहरूमा नेपाली चलचित्र लगाउने पहल भने थालेको थियो । विश्वभर एकसाथ हलमा चलचित्र प्रदर्शन गर्ने टिमको योजना केही समय अन्तरालमा पक्कै पुरा हुने उनले बताए ।
त्यस्तै चर्चित नायिका तृप्ति नाडकरका छोरा धिरजले नेपाली चलचित्रबाट डेब्यु गरेका छन् । चलचित्र ‘बाबरी’ मार्फत धिरजले नेपाली चलचित्रमा अभिनय सुरु गरेका हुन् । लकडाउन अघि नै छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रलाई कोभिड-१९ ले पछि सारेको थियो । यसैकारण निर्देशक सुरेन्द्र पौडेलको चलचित्रमा धिरजले जोडिने मौका पाए । नेपाली चलचित्र जगतमा राम्रो अभिनयका कारण नाम कमाएकी तृप्ति विवाह पश्चात् भारतमै बस्दै आएकी छन् ।
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मार्फत निर्माता/निर्देशक दिवाकर भट्टराईले भारतीय कलाकारलाई नेपाली हिरोको रूपमा मात्रै भित्र्याएनन्, उनले चलचित्रका लागि प्राविधिक टोली समेत उतैबाट मगाए । चलचित्रमा रोहित सुचान्तीले पहिलोपटक नेपाली चलचित्रमा अभिनय गर्दैछन् । उनको साथमा चलचित्रको मुख्य भूमिकामा दीपिका प्रसाईँको अभिनय रहने छ । लामै समय भारतमा बसेर दिवाकरले टिमलाई नेपाल ल्याएका थिए । हाल चलचित्रको छायाङ्कनको काम चलिरहेको छ ।
भारतीय चलचित्र ‘रुस्तम’ निर्माता तथा ‘एमएस ध्वनि’ निर्देशक नीरज पाण्डेले नेपाली चलचित्र बनाउने भएका छन् । नाम फाइनल नभएको चलचित्रमा उनले सरोज न्यौपानेको ब्यानरसँग सहकार्य गरेर चलचित्र बनाउन लागेका हुन् । हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको स्क्रिप्ट र स्क्रिन प्ले पाण्डेले नै तयार गर्दै छन् । यो चलचित्रको हिन्दी भाषामा रिमेक बन्ने तयारी छ । जसको निर्देशन समेत हेमराजले नै गर्नेछन् । चलचित्रका लागि अडिसन मार्फत कलाकार छान्ने तयारी छ । चलचित्र भदौबाट फ्लोरमा जानेछ ।
नेपाली स्क्रिप्ट राइटर शिवम अधिकारीले भारतीय चलचित्रमा काम गर्दै थिए । बिचमा उनको स्वास्थ्यमा समस्या आयो र नेपाल फर्किन पर्यो । तर उनीलगायत तीनजना राइटर भएको चलचित्रको स्क्रिप्ट सक्न कै लागि उनी भारत जाने तयारीमा छन् । भारतीय चलचित्र ‘बर्फी’ मा काम गरेर नेपाल फर्किएका कलाकार भोलाराज सापकोटाले समेत आफुलाई बलिउडबाट कामको कुरा आइरहेको बताएका छन् ।
यसरी हेर्दा वर्ष २०७७मा नेपाल र भारतका चलचित्र कर्मीहरूको सहकार्य बढ्ने क्रममा देखिएको छ । त्यस्तै नेपाली निर्माताहरू समेत अन्तर्राष्ट्रिय बजारमा आफ्नो चलचित्र बिकाउने प्रयासमा लागेका छन् । कोभिड कहरका कारण नेपाली चलचित्र र कला क्षेत्रले भोग्नुसम्मको सास्ती खेपेको छ । यद्यपि यी केही समाचारले भने यो सास्तिमा अलिकति भएपनि राहतको मल्हम लगाएका छन् ।








