पशुपतिनाथमा दर्शनको विशेष व्यवस्था

काठमाडौँ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । पश्चिम मूल ढोकाबाट दर्शन गर्न चाहने भक्तजनका लागि प्रवेश गराएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको हाे । पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्‍ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेला पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गरी मनाइँदै छ ।

चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत ३१ गतेदेखि नै शुरु भइसकेको छ । चैत ३१ गतेदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको राक्षस ४९ औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् ।

प्रतिक्रिया