माग पूरा गर्नेसँग मिलेर सरकारमा जान्छौँ : महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले आफ्नो माग पूरा गर्नेसँग मिलेर सरकारमा जाने बताएका छन् । मंगलवार जनकपुरधाममा पत्रकारहरुसँगको सवाल जवाफका क्रममा नेता महतोले यस्तो बताएका हुन् । ‘विगतमा कांग्रेस, एमाले र माओवादीसँग मुद्दा र माग पूरा गराउन आग्रह गरेकै हौँ,’ नेता महतोले भने, ‘तर, त्यस बेला कसैले ध्यान दिएन् । अब जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जाने हो ।’
नेता महतोले सत्ता समीकरणबारे आफ्नो पार्टीले केही दिनभित्र उचित निर्णय लिने बताए । उनले भने– ‘पहिले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल गर्छौँ, नभएमा विकल्पको खोजी हुन्छ ।’ नयाँ सरकार गठनको कसरतस्वरुप सोमवारदेखि जसपाभित्र आन्तरिक छलफल शुरु भएको छ । लामो समयको सम्वादहीनतालाई तोड्दै नेताहरु छलफलमा जुटेको जसपा नेता केशव झाले मकालु खबरलाई जानकारी दिए । ‘हिजोबाट पार्टीभित्र छलफल शुरु भएको छ,’ नेता झाले भने, ‘अब चाँडै एक खाले निष्कर्ष निस्कन्छ ।’
सत्ता समीकरणबारे जसपाभित्र दुई धार देखिएको छ । द्वयनेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल नहुने बताउँदै आएका छन् भने महन्थ ठाकुर र महतोले भने आफ्नो माग पूरा भएको खण्डमा ओलीसँगै जाने बताउँदै आएका छन् । यही समस्यालाई सल्टाउन जसपाले सोमवारदेखि आन्तरिक छलफल शुरु गरेको छ ।








