एपीएफ सामु नेपाल पुलिस निरीह

विराटनगर । सशस्त्र प्रहरीका सामु नेपाल पुलिस क्लब निरीह बनेको छ । विराटनगरमा जारी विराट गोल्डकपको सोमबार राती भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ)ले नेपाल पुलिस क्लबलाई २-० गोलले निरीह बनाएको हो ।

जीतसँगै एपीएफ विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २-० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिकिमको युनाइटेड र वेस्ट बंगालको टिमलाई हराउँदै समेफाइनलको यात्रा सुरक्षित गरेको छ ।

नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

आजको खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्सबीच हुनेछ ।

प्रतिक्रिया