पाकिस्तानविरुद्ध दक्षिण अफ्रिका विजयी

काठमाडौं । घरेलु टिम दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टि-२० क्रिकेट सिरिजको दोस्रो खेलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध सहज जित निकाल्यो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १४ ओभरमा नै चार विकेटको क्षतिमा लक्ष्य भेटायो । दक्षिण अफ्रिकाका ऐडन मारक्रमले ५४, कप्तान हेनरिच क्लासेनले अविजित ३६ र जर्ज लिन्डेले अविजित २० रन बनाए ।

पाकिस्तानका लागि उस्मान क्वादिरले दुई र मोहम्मद हस्नाइन र हसन अलीले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर अजामले ५०, मोहम्मद हफिजले ३२, हैदर अली र हसन अलीले समान १२-१२ रन बनाए। बलिङमा दक्षिण अफ्रिकाका जर्ज लिन्डे र लिजाड विलियम्सले समान ३-३ विकेट लिए ।

प्रतिक्रिया