राजस्थानविरुद्ध पञ्जाबको रोमाञ्चक जित

काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई चार रनले पराजित गरेको हो ।

मुम्बईमा भएको रोमाञ्चक खेलमा पञ्जाबले जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ९१ रन बनाए। उनले ५० बलमा सात चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै, दीपक होडाले विष्फोटक ब्याटिङ गर्दै २८ बलमा ६४ रन बनाउँदा क्रिस गेलले २८ बलमा नै ४० रन बनाए । बलिङतर्फ राजस्थानका चेतन साकारियाले तीन विकेट र क्रिस मोरिसले दुई विकेट लिए ।

जारी आईपीएलमा पहिलो शतक
२२२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१७ रन मात्रै बनाउन सक्यो ।

शुन्यमा बेन स्टोक्सलाई पहिलो विकेटको रुपमा गुमाएको राजस्थानले २५ रन हुँदा दोस्रो विकेट गुमाउँदै थप दबाबमा आएको थियो। तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्जु सामसोनले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । जुन शतक जारी आईपीएलको पहिलो शतक बन्यो । सन्जुले ६३ बलमा १२ चौका र सात छक्का प्रहार गर्दै ११९ रन बनाए ।

उनकै उत्कृष्ट प्रदर्शनमा राजस्थान जित नजिक पुगेको थियो । तर बाँकी ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा हार झिनो रनले हार ब्यहोरेको हो । जस बटलर र रियाङ परागले समान २५-२५ रन बनाए । बलिङतर्फ पञ्जाबका अर्षदीप सिंहले तीन र मोहम्मद सामीले दुई विकेट लिए ।

प्रतिक्रिया