आगोले जलेर एक वृद्धाको मृत्यु

विराटनगर । तेह्रथुममा झिक्रा डढाउने क्रममा एक वृद्धाको जलेर ज्यान गएको छ । म्याङलुङ नगरपालिका- ३ नागदह बस्ने ७२ वर्षीया फुलमाया ढुंगानाको आगोले जलेर ज्यान गएको हो ।

सोमबार बिहान घरनजिकै बारीमा सुकेको झ्यास, झिक्रा डढाउने क्रममा आगो बाँसघारीमा सल्कन पुगेको थियो । सोही बाँसघारीमा फुलमायाको डढेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँसघारीमा आगो लागेको देखेपछि पुगेका स्थानीय किशोरप्रसाद सिग्देल र फुलमायाकी जेठी बुहारीले आगो निभाउने क्रममा फुलमायालाई जलेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया