प्रदेश १ सभाको बैठक तेश्रो पटक अवरुद्ध, माफी माग्न सरकारलाई दबाब

विराटनगर । प्रदेश सभाको बैठक तेश्रो पटक अवरुद्ध भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले प्रदेश सभाको सोमबारको बैठक पनि अवरुद्ध गरेका हुन् ।

प्रदेश सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान नसकेको भन्दै प्रदेशसभाको बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । सोमबारको बैठक पनि दलहरुले अवरुद्ध गरेपछि बैठक वैशाख ५ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।

प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक शुरु भएसँगै सभामुखले बैठक सञ्चालन गरेपछि सबै विपक्षी दलहरुले उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि सभामुखको भूमिका निर्वाह गरेकी उपसभामुख सरस्वती पोखरेलले दलहरुको तर्फबाट आफ्ना कुरा राख्न आग्रह गरेकी थिइन् ।

विपक्षी दलको तर्फबाट बोल्दै जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले विपक्षी दलहरुले उठाएको माग तत्काल सम्बोधन नहुँदासम्म सदन सुचारु हुन नदिने स्पष्ट पारे ।

यादवले सरकार आफैँले ल्याएको रातो किताबको नीति बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नुलाई सरकारको असक्षमता भएको बताए । ‘हामीले सरकारलाई ल्याएको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजाऊँ भनेका हौँ,’ उनले भने, ‘हामी विपक्षीले उठाएको माग सम्बोधन नगर्दासम्म सदन सुचारु हुनेछैन ।’

प्रदेश सभा तेश्रो पटकसम्म एउटै विषयमा अवरुद्ध हुँदा समेत सरकारले सदनमा आएर जवाफ दिनुपर्नेमा बेवास्ता गरेको आरोप यादवको छ । प्रदेश सभामा सरकारको उपस्थिति नै नुहुनुलाई पनि विपक्षीले मुद्दा बनाएका छन् । प्रदेश सभाको नियमित बैठकमा मुख्यमन्त्रीको उपस्थिति नहुँदा जनताका धेरै मुद्दाहरु ओझेलमा परेको यादवले सदनलाई जानकारी गराए ।

‘हिजोसम्म सरकारका मुख्यमन्त्री दलको काममा, आफ्नै व्यक्तिगत काममा व्यस्त हुनुहुन्थ्यो, आज त्यस्तो अवस्था छैन,’ उनले भने, ‘अहिले फुर्सद भएपनि अहिलेसम्म सरकारका प्रतिनिधिको मुख हेर्न पाएका छैनौँ ।’

प्रदेश सभाको बैठक अवरुद्ध हुनुको विषयको माग प्रतिपक्षी सांसदको मात्र नभई सबै सत्तापक्ष सांसदको पनि माग रहेको उनले बताए । ‘यो सरकार कहाँबाट परिचालित छ?’ उनले प्रश्न गर्दै भने, ‘हामी सांसदले उठाएका विषयहरू किन सम्बोधन भएका छैनन्‚ त्यो विषय गम्भीर हो ।’

प्रदेश सरकारको तर्फबाट ठोस निर्णय नआउँदासम्म सदन चल्न नदिने उनले जानकारी दिए । हिजोदेखि उठ्दै आएको विषय, रातो किताबमा ल्याएको कार्यक्रम कार्यान्वयनमा नलग्नु, बजेट नीति तथा कार्यक्रम कार्यान्वायनको सुनिश्चितता, समयमा बजेट कार्यान्वायन गर्न नसक्नु, विपक्षी दलले ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिनु र कमी कमजोरी भएपनि सच्याउनुपर्ने अवस्थामा प्रदेश सरकार कानमा तेल हालेर सुतेको विपक्षी दलहरुको आरोप छ ।

‘बजेटको सुनिश्चितता गर्न नसक्ने हो भने रातो किताबमा किन ल्याइयो त्यसको जवाफ चाहिन्छ,’ उनले भने, ‘प्रदेश सभामा आएर सरकारले माफी माग्नुपर्छ ।’

प्रदेश सभाबाट पारित भएको बजेट कार्यान्वयन गर्न नसक्नु प्रदेश सरकारको ठूलो कमजोरी भएको यादवले बताए । आफ्नै नीति तथा कार्यक्रम बजेट विनियोजनको अवस्थामा पनि सरकारले हेलचेक्र्याइँ र गैरजिम्मेवारीपन प्रस्तुत गरेको विपक्षीको भनाइ छ । सत्तापक्षले प्रभावकारी भूमिका खेल्न नसकेको अवस्थामा प्रदेश सरकारको सक्रियता बढाउन सदन अवरुद्ध गर्नुपरेको उनले बताए ।

सोमबारको प्रदेश सभा बैठक सुरु हुनुभन्दा पहिला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेका थिए । झण्डै २ घण्टा चलेको बैठकबाट समेत कुनै निष्कर्ष ननिस्किएपछि सोमबारको बैठक पनि अवरुद्ध हुन पुगेको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले चैत २६ र २७ गतेको बैठक पनि अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया