भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ७० हजार नाघेको छ । कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको सोमबार केन्द्रीय सरकारले जानकारी दिएको हो ।
गत २४ घण्टामा भारतमा थप १ लाख ६८ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै सबैभन्दा धेरै भएको सरकारी स्रोतले जनाएको छ ।
पछिल्लो केहि दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । आइतबार ९०४ संक्रमितको मृत्यु भएको छ ।
भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको संख्या भने १२ लाख १ हजारभन्दा बढी रहेको छ । यद्यपि एक करोड २१ हजार ५७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।








