यमनको मारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

आडेन । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तिमा ४७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको अन्तरराष्ट्रिय समाचार संस्था सिन्हाले जनाएको छ ।

द्विपक्षीय भिडन्तमा ४७ जनाको गएको २४  घण्टायता निधन भएको समाचारमा उल्लेख गरिएको छ ।

उत्तरी यमनको मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन् । त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीहरुविरुद्ध आक्रामक रुपमा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

सो क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ । पछिल्लो समयमा भएको सो कारबाहीबाट नै ती विद्रोही मारिएका छन् ।पछिल्लो २४ घण्टामा पनि साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी २५ जना हुथी व्रिद्रोही मारिएका छन् । उता हुथी विद्रोहीले यमनको सेनामाथि पनि हमला गरेका छन् ।

त्यसमा परेर कम्तीमा पनि २० जना सेनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । ती अधिकारीले पछिल्लो समयमा विद्रोहीहरुको निशानामा सर्वसाधारण नागरिक पर्ने गरेको बताएका छन् ।

हुथी विद्रोहीहरुको आक्रमणमा परेर सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । गत शनिबार पनि सो क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच ठूलो भिडन्त भएको छ ।

तेलका लागि धनी सो क्षेत्रमा विगत लामो समयदेखि यहाँका विद्रोहीहरुले तेल कब्जा गर्नका लागि भिडन्त गर्ने गरेका छन् । तर यहाँको सरकारी सेनाले पनि यहाँको स्थानीय सरकार र स्थानीय विभिन्न जातिहरुसँग मिलेर विद्रोहीहरुका विरुद्धमा सशक्त कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया