नामिबियासँग एकदिवसीय सिरिज खेल्दै नेपाल

काठमाडौं । नेपालले नामबियासँग एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आइतबार बसेको बैठकले नेपालले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने जानकारी दिएको हो ।

आगामी मे महिनाको तेस्रो साता नामिबियासँग एकदिवसीय क्रिकेट सिरिज सञ्चालनका लागि तयारी गर्ने क्यानले निर्णय गरेको छ । आउदो शनिबार बैशाख ४ गतेदेखि आफ्नै घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि-२० क्रिकेट सिरिज खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्ससँग शनिबार खेल्नेछ ।

त्यस्तै क्यानले एप्रिलको तेस्रो साता महिला क्रिकेट टिम र भारतको उतराखण्ड महिला क्रिकेटबीच एकदिवसीय र टि-२० सिरिज गराउने भएको छ । क्यानले महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ । त्यस्तै, २०२१ को सेन्ट्रल कन्ट्याकमा १८-१८ महिला र पुरुष खेलाडीलाई राख्ने क्यानले निर्णय गरेको छ ।

प्रतिक्रिया