प्रदेश १ : निरन्तरको सदन अवरुद्धपछि सभामुखले थाले परामर्श

विराटनगर । पटक पटक अवरुद्ध हुँदै आएको प्रदेश सभाको बैठक नियमित गर्न परामर्श शुरु भएको छ । नेपाली कांग्रेससहितका दलहरुले अवरुद्ध गरेको प्रदेश सभाको बैठक नियमित संचालन गर्न प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले परामर्श थालेका हुन् ।

विपक्षीका कारण अबरुद्ध भएको प्रदेशसभा बैठकलाई सुचारु गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आयोजना गरेका हुन् । सभामुखको पहलमा आज (आइतबार) बसेको बैठकमा गतिरोध अन्त्य गर्ने बारेमा कुनै सहमति भने हुन सकेन ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दलहरुले चालु वर्षको बजेटमा स्वीकृत कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन् । ती दलले योजनाहरुका लागि आवश्यक स्रोत सुनिश्चितता गराउन र गौरवका आयोजनाहरुलाई निरन्तरता दिनुपर्ने अवाज उठाएका छन् । बजेटमा व्यवस्था भएअनुसार प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा सरकार उदासीन भएको आरोप लगाउँदै सरकारलाई दबाब दिन सदन अवरुद्ध गरेका थिए ।

अलपत्र रहेका बहुवर्षे विकास आयोजनाहरुलाई निरन्तरता दिन पनि विपक्षीहरुले माग गर्दै आएका छन् । बजेट अभावको कारण देखाएर ती सबै आयोजना रोकिएको भन्दै त्यसको निरन्तरता दिनुपर्ने उनीहरुको माग छ ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए । सरकारलाई सघाउन चाहँदा पनि सरकार सरकार जिम्मेवार रुपमा प्रस्तुत नभएको बताए ।

प्रदेशसभाको पछिल्ला दुईओटा बैठक निरन्तर विपक्षी दलहरुले अवरुद्ध गरेपछि सभामुखलले छलफलमा बोलाएका थिए ।

सरकारले समस्या समाधान नगरे आउँदो बैठकपनि अवरुद्ध गर्ने उनीहरुको योजना छ । समस्या समाधानका लागि भनेर बोलाइएको बैठकमा मुख्यमन्त्रीको भने उपस्थिति थिएन । प्रदेशसभाको अर्को बैठक चैत ३० गते सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया