आगलागी प्रभावितलाई प्रतिपरिवार ५० हजार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका आगलागी प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।

गत चैत १२ गते भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका- ८ पात्लेपानीमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका थिए ।

आगलागी भएको बस्तीमा पुगेर मुख्यमन्त्री राईले पीडित परिवारको अवस्थाको बारेमा जानकारी लिएका हुन् । मुख्यमन्त्री राईले आगलागी पीडित परिवारलाई प्रतिपरिवार ५० हजार नगदसमेत हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

‘आगलागीबाट घरबारविहीन भएका परिवारलाई मुख्यमन्त्री राईले प्रतिपरिवार ५० हजार वितरण गर्नुभयो,’ सुवेदीले भने, ‘बिचल्लीमा परेका चार परिवारलाई २ लाख उपलब्ध गरिएको हो ।’ राईले आगलागी प्रभावितलाई नगदसहित बस्ने टेन्ट, कपडा र आवश्यक खाद्यान्न समेत उपलब्ध गराएका थिए ।

पीडित परिवारलाई स्थानीय समाजसेवी जीवन खाहोङ राई नेतृत्वको टोलीले उपलब्ध गराएको कर्कटपाता समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया