मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राजकुमार फिलिपको अन्त्येष्टि : ३० जनामात्रै सहभागी हुने, दरबारमा फूल नचढाउन आह्वान

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ ।

बेलायतको राजदरबार बकिंगमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका फिलिपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिएका छन् ।

गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रियामार्फत् अन्त्येष्टि गर्नुपर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समयअनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

कोरोना महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।

उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।

उनको निधनपछि बेलायती पूर्वयुवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किने भएका छन् । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी आफ्नी श्रीमती मेगनबिना नै बेलायत आउन लागेका हुन् ।

मेगन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

दिवंगत फिलिपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उनलाई श्रद्धाञ्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिंगमले घोषणा गरेको थियो ।

सन् १९४७ मा एलिजावेथसँग विवाह गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबारले जनाएको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेकी थिइन् ।

‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनीहरू छन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुन् ।

शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गर्ने व्यक्तिका रुपमा स्मरण गरेका छन् ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो वैवाहिक जीवन सँगै बिताएका राजकुमार फिलिपले पछिल्ला केही वर्षयता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छाडिदिएका थिए ।

उनले रोयल नेभी र बेलायतको इतिहासमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानी एलिजावेथ द्वितीयाको पतिका रूपमा विश्वभरबाट माया पाएका छन् । महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत त थिएन । तर‚ राजसंस्थाको नजिक उनीभन्दा धेरै अरू कोही थिएन ।

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थिए । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेका बेला बेलायतका राजा जर्ज छैठौंको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ रहेको थियो ।

बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै महारानी एलिजावेथद्वारा जारी गरिएको घोषणामा उनलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियोे । उनको विशेष रुची युवाको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा रहेको थियो । फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com