भारतमा नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ५२ हजार संक्रमित

काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमणले हरेक दिन रेकर्ड बनाउँदै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

भारतमा दैनिक रुपमा लगातार १ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो छैठौं दिन हो । यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९, अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ र अप्रिल १० मा १ लाख ४५ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड(१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले उल्लेख गरेअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ८ सय ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ३ सय ५ पुगेको हो । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये १ करोड २० लाख ७८ हजारभन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया