चेल्सीको फराकिलो जित

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले सानदार जित निकालेको हो । पहिलो हाफमा तीन गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो । खेलको आठौं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । खेलको १० औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई २-० गोलको अग्रता दिलाए ।

एकपछि अर्को गोल गरेको चेल्सीले खेलको ३० औं मिनेटमा तेस्रो गोल गरेको थियो । कर्ट जोउमाले गोल गर्दै चेल्सीलाई ३-० गोलको अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा क्रिस्टियन बेनटेकेले गोल गर्दै क्रिस्टल प्यालेसलाई ३-१ गोलको स्थितिमा ल्याए । तर ७८ औं मिनेटमा क्रिस्टियन पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-१ गोलको जित दिलाए ।

जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ । ३१ खेलबाट चेल्सीको ५४ अंक छ । पराजित क्रिस्टल प्यालेस भने लिगको १३ औं स्थानमा छ । क्रिस्टल प्यालेसको ३१ खेलबाट ३८ अंक छ ।

प्रतिक्रिया