एस्टन भिल्लाविरुद्ध लिभरपुलको जित

काठमाडौं । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम लिभरपुलले खेलको अन्तिम समयमा गोल गर्दै जित निकालेको हो । खेलको ४३ औं मिनेटमा ओलिई वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई १-० गोलको अग्रता दिलाए । पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको एस्टनले यहि अग्रतालाई दोस्रो हाफमा पनि कायम राख्न सकेन ।

खेलको ५७ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरी दिलाए । खेलको इन्जुरी समयमा एलेक्सान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए ।

जितसँगै लिभरपुलले ३१ खेलबाट ५२ अंक बनाएको छ । लिभरपुल लिगको पाँचौ स्थानमा रहँदा पराजित एस्टन भिल्ला भने लिगको १० औं स्थानमा छ । एस्टन भिल्लाको ३० खेलबाट ४४ अंक छ ।

प्रतिक्रिया