म्यानचेस्टर सिटी लिड्ससँग पराजित

काठमाडौं । लिग लिडर म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । कमजोर टिम लिड्स युनाइटेडसँग म्यानचेस्टर सिटी २-१ गोलअन्तरले पराजित भएको हो ।

म्यानचेस्टर सिटी आफ्नै घरेलु मैदानमा १० खेलाडीमा झरेको लिड्ससँग स्तब्ध बनेको हो । खेलको ४२ औं मिनेटमा स्टुआर्ट डेलासले गोल गर्दै लिड्सलाई अग्रता दिलाए । तर पहिलो हाफको अन्तिम समयमा लियाम कपरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्स १० खेलाडीमा सीमित बनेको थियो । पहिलो हाफमै १० खेलाडीमा सीमित बनेपनि म्यानचेस्टर सिटीविरुद्ध लिड्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

खेलको ७६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै म्यानचेस्टर सिटीलाई १-१ गोलको बराबरी दिलाए । तर खेलको अन्तिम समयमा स्टुआर्ट डेलासले नै गोल गर्दै म्यानचेस्टर सिटीविरुद्ध लिड्सलाई २-१ गोलको जित दिलाए । खेलमा अधिकांश समय बल पोजिसन आफ्नो पक्षमा राखेपनि म्यानचेस्टर सिटीले खेल हार्न पुग्यो । २९ पटक लिड्सको पोष्टमा म्यानचेस्टर सिटीले प्रहार गरेको थियो ।

यो खेलमा हारेपनि शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १४ अंकले अघि छ । ३२ खेलबाट म्यानचेस्टर सिटीको ७४ अंक छ । लिड्स युनाइटेडको ३१ खेलबाट ४५ अंक भएको छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलबाट ६० अंक छ । लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ३० खेलबाट ५६ अंक छ ।

प्रतिक्रिया