साविक विजेता मुम्बईमाथि बेंगलोरको जित

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा बैंग्लोरले साविक विजेता मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गरेको हो ।

चेन्नाईमा भएको आइपीएलको उद्घाटन खेलमा मुम्बई इन्डियन्सले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । मुम्बईका क्रिस लिनले ४९, सुर्यकुमार यादवले ३१, इशान किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । मुम्बई इन्डियन्सलाई सस्तैमा समेट्न बलिङतर्फ बैंग्लोरका हर्सल पटेलले पाँच विकेट लिए । उनले चार ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

१६० रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेटायो । बैंग्लोरका लागि एबी डिभिलियर्सले ४८, ग्लेन म्याक्सवेलले ३९ र कप्तान विराट कोहलीले ३३ रन बनाए। बलिङतर्फ जसप्रित बुमराह र मार्को जेनसेनले समान २-२ विकेट लिए ।

मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ । आइपिएल अन्तर्गत आज दोस्रो खेल चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।

प्रतिक्रिया