एपीएफ र सुदूरपश्चिमले उपाधिको लागि खेल्दै

काठमडौं । ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले आज फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवी क्रिकेट मैदानमा आज दिउँसो १ः०० बजे विभागीय क्लब एपीएफ र सुदूरपश्चिमबीचको फाइनल खेल हुँदैछ । सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ पहिलो पटक भएको ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न चाहन्छ । यता, सुदूरपश्चिम प्रदेश पनि एपीएफलाई पराजित गर्ने लक्ष्यसहित मैदानमा उत्रिने छ ।

एपीएफले लिग चरणको खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले चार खेलबाट चारै खेलमा जित निकाल्दै आठ अंक बनायो । चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर सुदूरपश्चिमले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । यता, लिगको तेस्रो स्थानमा रहेको प्रदेश १, ललितपुर मेयर्स एघार टिम र लुम्बिनी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले पराजित गरेको थियो । प्रतियोगिताको विजेता टिमले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सवुमनले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया