उपाधिका लागि एपीएफ र सुदूरपश्चिमले शनिबार खेल्दै

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

दुवै टिम एक अर्कालाई पराजित गर्दै उपाधि जित्न चाहन्छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार उपाधिका लागि विभागीय क्लब एपीएफले सुदूरपश्चिमसँग खेल्न लागेको हो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ पहिलो पटक भएको ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न चाहन्छ ।

यता, सुदूरपश्चिम प्रदेश पनि एपीएफलाई पराजित गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

एपीएफले लिग चरणको खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले चार खेलबाट चारै खेलमा जित निकाल्दै आठ अंक बनायो ।

चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंक बनाएर सुदूरपश्चिमले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

यता, लिगको तेस्रो स्थानमा रहेको प्रदेश १, ललितपुर मेयर्स एघार टिम र लुम्बिनी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता टिमले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्लेयर अफ दी सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सवुमनले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया