विराट गोल्डकप आजदेखि

विराटनगर । प्रदेश १ कै सबैभन्दा ठूलो पुरस्कार राशी भएको विराट गोल्डकप बिहीबारदेखि शुरु हुँदैछ । बिहीबार साँझ उद्घाटन खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम शाहले प्रतियोगितामा १० टिम सहभागी हुने जानकारी दिए ।

प्रतियोगिताको पहिलो खेल विराटनगरको घरेलु टोली विराटनगर ११ र युनाइटेड सिक्किम फुटबल क्लबबीच हुनेछ । खेल साँझ ७ बजेबाट सुरु हुने साहले जानकारी दिए । फ्लड लाइटमा हुन लागेको प्रतियोगिता विराटनगरमा दोश्रो पटक हुन लागेको हो ।

प्रतियोगितामा नेपालबाट मछिन्द्र क्लब, संकटा ब्वाइज स्पोर्टिङ्ग क्लब, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गोरखा ब्वाइज क्लबले सहभागिता जनाउनेछन् । त्यस्तै भारतबाट पञ्जाब पुलिस, युनाइटेड सिक्किम फुटबल क्लब, अफ्रिकी मुलुक क्यामरुनबाट अफ्रिकन रुट्स एसोसिएसनको टोली पनि सहभागी हुने सांयोजक शाहले बताए । पहिलो पटक विराटनगर महानगरपालिका ११ सहभागी हुँदैछ ।

प्रतियोगिताको बिजेताले १५ लाख १५ हजार र उप-विजेताले ७ लाख ५१ हजार नगदसहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच’लाई १५ हजार नगद पुरस्कारसहित सिल्ड, म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकलसहित पदक प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र टिममध्येका उत्कृष्ट सबैलाई २५-२५ हजार राशिको पुरस्कार प्रदान गरिने संयोजक शाहले जानकारी दिए ।

प्रतिक्रिया