प्रदेश सांसद भन्छन्- निर्वाचन क्षेत्रको रकम किन पठाइएन ?

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठकमा सांसदहरुले नीतिगत व्यवस्था गरेको विशेष निर्वाचन क्षेत्रको कार्यक्रमको रकम उपलब्ध नगराएकोमा सरकारको आलोचना गरेका छन् ।

प्रदेश १ प्रदेश सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले संसद विकास कोषको रकम अहिलेसम्म नदिएर सरकारले सांसदहरुलाई लज्जित बनाएको आरोप लगाएका हुन् ।

सुनसरीकी सांसद उमिता विश्वकर्माले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएको सांसद विकास कोषको रकम अहिलेसम्म नदिएर जनतासामु सांसदलाई लज्जित बनाउने काम गरेको बताइन् । ‘निर्वाचन क्षेत्र विकासको नाममा दिइने विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बजेटमा भएर पनि किन नदिइएको हो ?’ उनले भनिन्, ‘सरकारले विनियोजन गरेको बजेट किन कार्यान्वायनमा गएन, त्यो रकम कहाँ गयो ?’

उनले दलित र महिला सशक्तीकरण विधेयक तर्जुमा गर्ने भनेर नीति तथा कार्यक्रम र बजेटले बोलेको भएपनि त्यो पनि कार्यान्वायनमा नगएकोप्रति ध्यानाकर्षण गराइन् ।

‘प्रदेश सरकारको कार्यक्रम, बजेटमा लिपिबद्ध गरिएको विषय पनि सरकारले कुल्चँदै गएको छ,’ उनले भनिन्, ‘सरकारसँग नीति, कार्यक्रम र बजेटलाई अविलम्ब कार्यान्वयन गर्न माग गर्दछु ।’

अर्का सांसद नारायणबहादुर मगरले सरकारले वहुवर्षीय योजनाका लागि बजेट नदिँदा बहुवर्षीय सडक निर्माणको काम गर्न नसकेर अलपत्र परेको बताए । ‘सरकारले निर्माणको लागि ठेकेदारलाई बजेट दिन नसकेर ठेकेदारले काम गरेको छैन, ती योजनाहरु अहिले अलपत्र छन्,’ सांसद मगरले भने, ‘लथालिङ्ग अवस्थामा छाडिएका ती योजनालाई तत्काल बजेटको व्यवस्था गरेर काम शुरु गर्न आग्रह गर्दछु ।’

सांसद रामचन्द्र लिम्बुले सरकारले प्रदेश सरकारको बजेटको ८५ प्रतिशत खर्च गरेको सरकारले दाबी गरिरहँदा संसद विकास कोषको रकम नै खर्च नभएको अवस्थामा कसरी त्यतिका रकम खर्च भयो भन्दै प्रश्न गरे । प्रदेश सरकारको ४२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको भएपनि अझै कार्यक्रम कार्यान्वायनमा नगएकाले त्यति रकम खर्च हुनै नसकेको उनको दाबी छ ।

‘यही प्रदेश सरकारले पत्रकार सम्मेलन गरेर ८५ प्रतिशत काम सकियो भनेर किन भनिएको हो ?’ उनले प्रश्न गरे, ‘४२ अर्बको ८५ प्रतिशत भनेको ३५अर्ब ७० करोड हो । त्यो कसरी खर्च भयो ? के मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा मात्र खर्च भएको हो ? हामीले पाउनुपर्ने रकम किन पाइएन ?’

प्रतिक्रिया