भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् ।

‘मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,’ सामाजिक सञ्‍जाल ट्विटरमा उनले लेखेका छन् । यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए । भारतले कोरोना भाइरसविरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ ।

कोरोनाविरुद्धको खोप उत्पादन र वितरणमा भारतका नेतृत्वदायी र उल्लेखनीय भूमिका खेलेको छ । तैपनि भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकै दिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ । पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनाभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

प्रतिक्रिया