विधेयक अधिवेशनमा सबै विधेयक अड्केर बसेका छन् : लालबाबु पण्डित

काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले विधेयक अधिवेशनमा सदनमा पेश गरिएका विधेयक सदनमै अड्किएर बसेको बताएका छन् ।

उनले राष्ट्रिय सभा र प्रतिनिधि सभामा ६५ वटा विधेयक रहेको भन्दै सबै विधेयक सदनमा अड्किएर बसेको आरोप लगाएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद पण्डितले भने, ‘राष्ट्रिय सभा र प्रतिनिधि सभामा ६५ वटा विधेयक छन् । दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन विधेयकको रुपमा अड्केर बसेको छ । संघीय निजामती सेवा ऐनसँग जोडिएको विधेयक लामो समयदेखि यही सदनमा छ‚’ उनले भने‚ ‘कतिपय गैरसरकारी विधेयक पनि छन् तर प्रचारमात्र गरिँदैछ । कतिपय माननीय सदस्यले नै भन्नुहुन्छ- सरकारले काम गर्न दिएन भनेर । के सरकारले ल्याएका विधेयकहरू काम होइन ? के हो यो ? यदि जानकारीको अभाव हो भने विधेयक शाखाबाट रिपोर्ट लिन सकिन्छ ।’

उनले भने‚ ‘नाम विधेयक अधिवेशन छ । एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन् ।’

संसदीय व्यवस्थालाई असफल बनाउन चाहनेहरूले सरकारले काम गर्न दिएन भनेको भन्दै उनले यदि संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने त्यो प्रश्न संसदका पदाधिकारी‚ सभामुखलाई पनि उठ्ने बताए । ‘संसदीय व्यवस्थालाई असफल बनाउन चाहनेहरू‚ संसदको काम छैन भन्ने चाहनेहरू‚ सरकारको विरोध गर्न चाहनेहरूलाई के भन्ने ? संसदले काम नपाएको भन्ने ? सरकारले काम नदिएको भन्ने ?’ सांसद पण्डितले भने‚ ‘संसदसँग काम छ तर काम गर्न सकिरहेको छैन । यदि संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने संसदका पदाधिकारी र सभामुखज्यूमाथि पनि प्रश्न उठ्छ ।’

प्रतिक्रिया