मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

टुट, गुट र फुटको अविराम यात्रा

हाम्रो राजनीतिमा ‘वादीतन्त्र’ हावी छ । माओवादी, मार्क्सवादी, लेनिनवादी, लोकतन्त्रवादी, राजावादी, निरंकुशवादी हुँदै यी सम्पूर्णवादको विसर्जन ‘खाओवादी’मा टुंगिने गरेको छ । हिजो किराँत, लिच्छवी, मल्ल, राणा, राजा हुँदै विभिन्न आवरणमा आएको राजनीति अहिले दलीय सिण्डिकेटमा प्रवेश गरेको छ । फलाम काट्न फलाम उपयोग गरेझैं राजा महेन्द्रले कम्युनिस्ट ठीक पार्न दरबार समर्थक कांग्रेस, कम्युनिस्ट उत्पादन गरे ।

रुसका राता किताब पढेर एकथरि रुसवादी कम्युनिस्ट भए । सित्तैमा रुस पढ्न जान पाइने लोभमा अर्काथरि लोभीपापी कम्युनिस्ट थपिए । आफ्नो विचारमा असहमत भएकै नाममा जन्म दिने बालाई पनि शत्रु देख्ने चरित्रको अर्को जडवादी कम्युनिस्ट निस्किए । हिमाल, पहाड, तराई सम्याएर एक बनाउने नाममा गाउँगाउँ गीत घन्काए । पर्चा पम्प्लेट टाँसे ।

राजतन्त्रको विरोध गरे । यसैको दोषमा जेल गए । यिनीहरू कम्युनिस्ट हुनुको नाममा यतिसम्म दुखीआत्मा थिए कि तोरीको गेडामा प्वाल नभएको विषयलाई समेत तर्क, कुतर्कको साधन बनाउथे । टुट, गुट र फुटले यो शक्ति क्षीण भयो । इतिहासदेखि नै फुटको निरन्तरताले उनीहरुको वर्गीय एकता भ्यागुताको धार्नी बन्यो । यो क्रम अझै यथावत छँदैछ । भूइँको लोभ गर्दा पोल्टाको समेत सर्वनाश गर्ने संयोग कसैका जीवनमा लागू हुन्छ भने त्यो नेपालका कम्युनिस्टकै जीवनचरित्रसँग मेल खान्छ ।

कम्युनिस्ट र कांग्रेस राजतन्त्रलाई निरंकुशताको पगरी भिराएर वैकल्पिक शक्तिको नाममा देशभित्र उदाएका हुन् । राजा महेन्द्रको शासन व्यवस्थापछि यो धार पेचिलो रुपमा अघि बढेको देखिन्छ । २००७ सालअघि राणा शासन सिध्याउन राजा र राजनीतिक दल एउटै मोर्चामा थिए । राणा शासनको अन्त्यपछि त्यही शक्ति त्रिकोणीय युद्धमा होमियो । खासगरी पञ्चायत र बहुदलवादी दलहरू रस्साकस्सीमा उत्रिए । बहुदलीय व्यवस्थाका समकालीन नेता यही समय खारिएका कोइला हुन् ।

पञ्चायतसँगै त्यसैको जुठोपुरोमा एउटा वर्ग जन्मियो । त्यो वर्ग पञ्चको अन्धभक्त थियो । त्यसको हरेक शासनव्यवस्थाले एउटा दास वर्ग जन्माउँछ । राणा, कांग्रेस हुँदै कम्युनिस्ट राज्यमा निरन्तर छ । तर्ककुतर्क, भालामुंग्रा जे गरेर भएपनि राजा र राजावादीको पक्षपोषण गर्नु उसको पहिलो र अन्तिम कर्तव्य थियो ।

संस्था नभई व्यक्तिको विकासमा रमाउनु उनीहरू धर्म सम्झन्थे । राजाको देवत्वकरण राजनीतिक गन्तव्य थियो । राजाको भक्तिभाव देशको विकास नभएर आफ्नो स्वार्थसँग जोडिएको हुन्थ्यो । पञ्चको नाममा घुसेका अवसरवादी झुण्डले राजाको चुलोमासमेत खेले । फलाममा लाग्ने खियाले फलाम सिध्याएझैं त्यही दासतन्त्रले राजा सिध्यायो । राजतन्त्र बिदा हुँदा दुःख मानेर सडकमा उत्रने पञ्चको एउटा बीउ भेटिएन । बरु पञ्चायत मासेर आएको शक्तिसँग गठजोड गरेर सत्ताको सहयात्रामा पञ्चे नै अगाडि देखिए ।

खासगरी दशैं, पूर्वराजारानीको जन्मोत्सवमा राजतन्त्रको बखानमा केही थान मानिसका स्थायी अन्तराझैं लाग्ने भद्दा दृश्य देखिन्छ । पेन्गुइनजस्तो ज्यान भएका यी मानिस सधैं राजा अघिल्तिर लम्पसार परेको देखिन्छ । यो दृश्यमा न कुनै विचार छ, न कार्यक्रम छ , न त राजाको समर्थन नै झल्किन्छ । बरु सिमसिमे राजाको पालामा गुन्जिने ‘राजा प्राणभन्दा प्यारो छ’ भन्ने एक सूत्रीय नाराले थकाइ मार्न पाएको छैन । पुस्तेनी रटान उही छ ।

नेताहरू फटाहा नै किन नहुन्, आफ्ना कार्यकर्ताको स्वामित्व लिन्छन् । रत्नपार्कमा पुलिसको डन्डीले कार्यकर्ताको टुटुल्को उठ्नासाथ सुम्सुम्याउन अस्पताल पुग्छन् । कांग्रेसका संस्थापक नेता बीपी कोइरालामाथि पञ्चायतले प्राणदण्ड माग गरी सातवटा मुद्दा लगाएको थियो । अदालतको कठघरामा उभिएर बीपीले भनेका थिए, ‘यदि प्रजातन्त्रको माग गरी नेपाल अधिराज्यभर गरिएका अहिंसात्मक गतिविधि जो कसैले गरेको भएपनि त्यसको स्वामित्व म लिन्छु । लोकतन्त्रवादीको हैसियतले त्यस्ता कर्मको जिम्मा लिनु मेरो कर्तव्य हो ।’

राजाको सक्रिय शासनको पक्षमा विभिन्न अवतारमा मानिसको भीड निस्कने गर्छ । अचम्म त के छ भने राजावादीले राजावादी भनिएकालाई नै चिन्दैनन् । एकले अर्काको स्वामित्व स्वीकार्दैनन् । मानौं उनीहरुका खल्तीपिच्छे अलग अलग राजा छन् । पुलिसले डण्डा सेकाउँदा त्यसको पक्षमा राजाको संस्थापन पक्ष मौन बस्छ ।

हाम्रो राजनीतिक आचरण शक्तिपूजक नै हो । प्रशंसा मीठो र अपमान पीडादायी नै लाग्छ । व्यवस्था बद्लनासाथ पात्र, प्रवृत्ति एकैरातमा कोल्टे फेरेका उदाहरण अनगिन्ती छन् । राजाका नाममा गरिएका तमाम गतिविधि पनि राजनीति नै हुन् । यति हुँदाहुँदै पनि राजाका नामका गतिविधि विचार र नीतिशून्य किन हुन्छ ? के एक्काइसौं शताब्दीको राजतन्त्रका विषयमा बहस हुन सक्दैन ? सुशासन र समृद्धिको बहस राजतन्त्रले ग्रहण गर्न सक्दैन ? राजतन्त्रको आँखाले वैदेशिक रोजगारीमा नेपालीको सहभागिता त्यही ‘जाँदा जहाजमा, फर्किंदा बाकसमा’ नै हो ? शिक्षा र स्वास्थ्यका विषयमा राजावादी के सोच्छन् ?

यदि राजतन्त्रका नाममा राजाको पाइला टेकिएको माटो तिलक लगाउनुपर्छ भन्ने सनातनी मान्यता हो भने प्रत्येकका घरबाटै अस्वीकृत हुन्छ । राजा दरबारबाट निस्कँदा अरुले सास फेर्न अनुमति लिनुपर्ने, सडकमा साइरनको आतंक सहनुपर्ने, शासकको अनुमतिबिना सेतोलाई सेतो भन्न नपाइने तन्त्र अब कुनै आडमा पनि नटिक्ने निश्चित छ ।

अब कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, तुलसी गिरी, लोकेन्द्रबहादुर चन्द हुँदै कमल थापासम्मका विरासतले राजतन्त्रले गरी खाँदैन । न त सडकमा देखिने झाँकीले नै विचारको प्रतिनिधित्व गर्छ । चमत्कार नहुने हो भने पूर्वराजा ज्ञानेन्द्रको अभ्युदयमा पनि कुनै आकर्षण बाँकी छैन । उसबेला जे भएपनि अबको समय कसैलाई तर्कले अल्मल्याउने समय होइन । कलियुगमा हरेक कर्म हातहातै, पातपातै देखिन्छ । विगतको अभ्यासले भन्छ- शक्तिको भोकले हरेक तह र तप्कालाई उठी सुख न बसी सुख गराउँछ । विधि, विधान र नियम कानुन आफैंलाई सम्झने रहर जाग्छ ।

राजा शक्तिमा आउँदा राजालाई सफल बनाउन आएका अनुहार आफैं मिति सकिएको औषधिजस्तै थिए । तिनीहरू आफ्नो विवेक बन्धक राखेर आएका रोबर्टजस्ता थिए । राजालाई साधन र साध्य दुवै मान्थे । राजालाई नचिढ्याउनु उनीहरुका लागि मुक्ति, मोक्ष थियो । राजा खुसी भएका दिन सूर्योदय र रिसाएका बेला चन्द्रगहण हुन्थ्यो । आखिर त्यो शक्ति त्यसरी नै बिलायो । नेपालमा विभिन्न समय भएका अभ्यासले यहाँ कुनै शासन व्यवस्था फापसिद्ध नहुने निश्चित छ । शक्ति र सत्तामा पुग्ने मनोविज्ञान भएका नेताको मनोकांक्षालाई संसारको कुनै शासन व्यवस्थाले पूरा गर्न सक्दैन । यहाँ विधि मान्ने नभएर भत्काउने प्रतिस्पर्धा बढ्दो छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । शासक फेरिएपनि पद्धति फेरिँदैन । जनताका इच्छा आकांक्षा फेरिँदैनन् । प्रकृतिको नियम फेरिँदैन । सूर्यको दैनिकी फेरिँदैन । असली लोकतन्त्र मान्छेको शरीरभित्र रहेको भित्री अंगजस्तै हो । मुटु स्वतन्त्र भएर चल्छ । फोक्सो आफ्नै शैलीमा हावा तान्ने, मिल्काउने गर्छ । मस्तिष्कको आफ्नै चाल छ । किड्नी कसैलाई नसोधी पानी छान्छ । रुखले पात फेर्ने हो, जरा हैन नि । आखिर यो सत्य बुझेका नेपाली कुनै बादका नाममा लोकतन्त्रको अलग परिचय किन खोज्छन् ?

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com