कोरोनाको दोस्रो लहरका बिच नाइजेरियामा अर्काे रोगको प्रकोप, ५० जनाको मृत्यु

अबूजा, आईएएनएस । एकातिर कोरोना महामारीको दोस्रो लहरले ठुलो विपत्ति निम्त्याइरहेको छ भने अर्कोतर्फ नाइजेरियामा एक अनौठो रोगको प्रकोप फैलिएको छ ।

आईएएनएसले आफ्नो रिपोर्टमा सिन्ह्वालाई उद्धृत गर्दै यस वर्ष नाइजेरियामा शंकास्पद हैजाको नयाँ प्रकोप फैलिएको र जसको संक्रमणबाट कम्तिमा ५० जनाले ज्यान गुमाएको लेखेको छ । नाइजेरिया सेन्टर फर डिजीज कन्ट्रोल (एनसीडीसी) का अनुसार देशका करिब आठवटा राज्य उक्त रोगबाट प्रभावित भएको छ ।

एनसीडीसीका प्रमुख चिकवे इचेजवाजूले २८ मार्चसम्म ५० जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिएका हुन् । उनका अनुसार एक हजार ७४६ केसमध्ये २.९ प्रतिशत बिरामीको मृत्यु भएको छ । एनसीडीसीले सो अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ ।

नाइजेरियाको नसरावा, सोकोटो, कोगी, बेलसा, गोम्बे, जाम्फरा, डेल्टा र बेन्नु राज्यमा यो रोग देखा परेको छ । यस रोगको प्रकोप नाइजेरियामा स्थिर छ, संक्रमण रोकिएको छैन ।

रिपोर्टका अनुसार यो रोग प्रायः नाइजेरियाको वर्षायाममा हुन्छ । यो रोग अधिक फोहोर, भीडभाड, स्वस्थ एवम् सफा खाना र पानीको हाहाकार भएका क्षेत्रहरूमा बढी फैलिएको पाइन्छ । यो खुला शौच क्षेत्रहरुमा फैलिन्छ ।

प्रतिक्रिया