मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

गणेशमान सिंह स्मृति किक बक्सिङ भोलिदेखि

काठमाडौं । आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौँथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका विभागका सचिव एवम् प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने जानकारी गराए ।

पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुने छ । पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुने छ । महिलामा ५०, ५५, ६०, ६५ केजी र खुला तौलसमूहमा खेल हुने छ । पुरुष/महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले जनही ८ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख नगदबाट पुरस्कृत गरिने छ । दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई समान २५/२५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाई लगायतका टोलीको सहभागिता रहने बताइएको छ ।

तीनदिने प्रतियोगिताका खेलहरु ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा खेलाइने छ ।प्रतियोगिताको तयारी पूरा भएको संयोजक महर्जनले जनाएका छन् । प्रतियोगिताको पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com