डेम्बेलेको गोलमा बार्सिलोनाको जित

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भ्यालाडोलिडलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले गोल गरे । १० खेलाडीमा झरेको रियल भ्यालाडोलिडविरुद्ध खेलको अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले महत्वपूर्ण तीन अंक प्राप्त गरेको हो । खेलको पहिलो हाफसम्म भ्यालाडोलिडले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको थियो ।

खेलको ७९ औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालाडोलिड १० खेलाडीमा झरेको थियो । खेलको ९० औं मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सिलोनालाई १–० गोलको जित दिलाए । बार्सिलोनाले भ्यालाडोलिडको पोष्टमा २५ पटक प्रहार गरेको थियो । निकै दबाब दिएर खेलेपनि बार्सिलोनाले भ्यालाडोलिडविरुद्ध एक गोल भन्दा धेरै गर्न सकेन ।

यो जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २९ खेलबाट ६५ अंक छ। यो जितले बार्सिलोनालाई उपाधि दौडमा झनै बलियो बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा बार्सिलोना मात्र एक अंकले पछि छ । एथ्लेटिको मड्रिडको २९ खेलबाट ६६ अंक छ । लिगको तेस्रो स्थानमा झरेको रियल मड्रिडको समान खेलबाट ६३ अंक छ । पराजित रियल भ्यालाडोलिडको भने २९ खेलबाट २७ अंक छ ।

प्रतिक्रिया